FLASH NEWS

सुन तस्करी प्रकरणबारे प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ संसदमा सुन्नुपर्छ: महामन्त्री शर्मा


नेपाल आवाज १९ श्रावण २०८०, शुक्रबार २०:२३ मा प्रकाशित १२९१ पाठक संख्या

काठमाडौं – नेपाली काँग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले  सुन तस्करी प्रकरणको सम्बन्धमा प्रधानमन्त्री र गृहमन्त्रीले संसद बैठकमा जवाफ दिनुपर्ने बताएका छन्।


शुक्रवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले सुन तस्करी प्रकरणको सम्बन्धमा प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ संसद बैठकमा खोज्नुपर्ने बताएका हुन्।

उनले प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ सुन्ने अधिकार सिंगो संसदको भएको भन्दै अविलम्व संसद सुचारु हुनुपर्ने बताए। उनले  सुन प्रकरणको गहिराईमा गएर छानबिन हुनुपर्ने बताए। उनले छानबिनको माग गर्दै संसद बैठक अवरुद्ध गर्नु समस्याको समाधान नभएको भन्दै छलफलबाट समाधानमा पुग्नुपर्ने बिषयमा जोड दिए ।

उनले भने – ‘काँग्रेस बैठकले भ्रष्टाचारको सन्दर्भमा भ्रष्टाचारको वर्ग, जाति, धर्म, सम्प्रदाय केही पनि हुँदैन । भ्रष्टाचार केवल भ्रष्टाचार हुन्छ । छानबिन गर्ने सन्दर्भमा कुनै मोलाहिजा नराखीकन सरकारले छानबिन गर्नुपर्छ । निर्दोष कोही फस्नुहुन्न । दोषि कोही उम्किनुहुन्न भनेर निर्णय गरेको छ । यो पनि स्पष्ट पारौँ । नक्कली भूटानी शरणार्थी प्रकरणदेखि सक्कली सुन प्रकरणसम्म छानबिनको लागि माग गरेको छ । आजको बैठकमा हामी छलफल गर्दै गर्दाखेरी मन्त्री र प्रधानमन्त्रीलाई बोलाउने कुरा गर्दैछौँ ।’

‘गलत कुरा गरिरहेका छैनौँ । तर मन्त्री र प्रधानमन्त्रीको जवाफ सुन्ने अधिकार यो देशका प्रत्येक सार्वभौम सांसदले राख्छन् कि राख्दैनन् । प्रत्येक सार्वभौम सांसदले त्यो अधिकार राख्नुहुन्छ भने संसदमा त्यो अधिकारको रक्षा गर्ने सन्दर्भमा कसले बोल्ने ? त्यसकारण राज्य व्यवस्था समितिको ध्यान अवरुद्ध भएको संसद खुल्नुपर्छ । त्यो संसदमा मन्त्री र प्रधानमन्त्रीहरुले त्यहाँ पनि जवाफ दिनुपर्छ । यहाँ पनि बोलाउने अधिकार छ । नबोलाउने कुरै छैन । तर त्यहाँ जवाफ दिनुपर्छ । छानबिन गहिराईमा हुनुपर्छ । छानविन गर्ने कार्य माग गर्नका लागि आवेगका साथ बल प्रयोगबाट समाधान होइन । छलफलबाट समाधानमा पुग्नुपर्छ ।’

उनले विमानस्थलबाट सरकारको कमजोरीका कारण सुन तस्करी भएको भन्दै सिनामंगल चोकमा सरकारले नै सुन समातेको पनि उनले उल्लेख गरे।