FLASH NEWS

मकवानपुर पहिरोमा परी बेपत्ता भएकामध्ये दुईको शव भेटियो, तीन अझै बेपत्ता


नेपाल आवाज २४ श्रावण २०८०, बुधबार ११:०० मा प्रकाशित १४४१ पाठक संख्या

मकवानपुरबागमती गाउँपालिका– ५ सिक्रेदोभानमा पहिरोमा परी बेपत्ता भएकामध्ये बुधबार बिहान थप दुई जनाको शव फेला परेको छ ।


मङ्गलबार बिहान वर्षासँगै आएको बाढी तथा पहिरोले घर बगाउँदा बेपत्ता भएकामध्ये दुई जनाको शव सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका– १ कोकरेस्थित बागमती नदीको बीच बगरमा फेला परेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार ६० वर्षीय अक्कलबहादुर स्याङ्तान र उनकी छोरी २२ वर्षीया शिला पहरीको शव फेला परेको हो । योसँगै पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

सिन्धुली हरिहरपुर गाउँपालिका– १ कोकटीका १७ वर्षीय पासाङ घिसिङको भने मङ्गलबार साँझ जीवितै उद्धार गरिएको थियो । घिसिङको खुट्टामा समस्या देखिएको र हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै उक्त पहिरामा परेर तीन जना अझै बेपत्ता छन् । बेपत्ता हुनेमा मृतक अक्कलबहादुरका ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाति चार वर्षीय मिलन पहरी र नातिनी डेढ वर्षीया दिव्या पहरी छन् । बेपत्ताको खोजी भइरहेको छ । पहिरोमा परेकामध्ये अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया सन्तमायाको भने मङ्गलबार नै मृत्यु भएको थियो ।