FLASH NEWS

जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधित क्षेत्रको अवधि दुई महिना लम्ब्यायो


नेपाल आवाज ४ फाल्गुन २०८०, शुक्रबार २३:२६ मा प्रकाशित ४१५३ पाठक संख्या

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधित क्षेत्रको अवधि दुई महिना बढाएको छ।


प्रशासनले यसअघि मंसिर ५ गतेदेखि ३० दिनका लागि शितल निवास, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री निवास, माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र सिंहदरबार आसपास निषेधित क्षेत्र घोषित गरेको थियो। त्यसपछि प्रशासनले पुस ५ गतेदेखि थप दुई महिना निषेधाज्ञा लम्ब्याएको थियो।

थपिएको दुई महिनाको अवधि सकिएसँगै भोलि (फागुन ५ गते) देखि लागू हुने गरी निषेधाज्ञाको अवधि थप दुई महिना बढाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले शुक्रबार नयाँ आदेश जारी गर्दै थप दुई महिनाको लागि निषेधित क्षेत्रको अवधि थप गरिएको जानकारी दिएका छन्।

निषेधित क्षेत्रमा पाँच जनाभन्दा बढी भेला जम्मा भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ गर्न निषेध गरिएको छ।