FLASH NEWS

‘हाम्रो आन्दोलन व्यवस्था परिवर्तनको हो, ख्यालठट्टा नसोच्नू’ : राप्रपा नेता बुद्धिमान तामाङ


नेपाल आवाज ८ फाल्गुन २०८०, मंगलवार १७:०५ मा प्रकाशित ९९१ पाठक संख्या

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका उपनेता बुद्धिमान तामाङले पार्टीले बुधबारबाट सुरु गर्ने देशव्यापी आन्दोलन व्यवस्था परिवर्तनको आन्दोलन भएको बताएका छन्।


मंंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले राप्रपाको आन्दोलन व्यवस्था र अवस्था परिवर्तनको आन्दोलन भएकाले यसलाई ख्यालठट्टा नठान्न आग्रह गरे।

उनले अन्य बेलाको जस्तो सरकार र सत्ता परिवर्तन, महँगी नियन्त्रणजस्तो आन्दोलन नभएको बताए। उनले पार्टीको आन्दोलन शान्तिपूर्ण र भद्र आन्दोलन भएकाले सबैले सोहीअनुसार आफ्ना कार्यक्रम अघि बढाउन आग्रह गरे।

उनले भने, ‘यो आन्दोलन सामान्य ख्याल ठट्टाको आन्दोलन होइन। यो सरकार परिवर्तन गर्ने, महंगीको बिरोध गर्ने, केके विरोध गर्ने होइन। हामीले व्यवस्था र अवस्था परिवर्तन गर्ने आन्दोलन हो। सबैले यसमा सोचेर अघि बढ्नुपर्छ। यो आन्दोलन शान्तिपूर्ण आन्दोलन हो। हामी भद्र आन्दोलन गर्ने हो।’

पार्टीका सांसद धवल समशेर जबराले राज्य पूर्णरुपले असफल भइसकेकाले व्यवस्था परिवर्तनको आन्दोलन सुरु गर्न लागेको बताए। उनले व्यवस्था र व्यवस्था चलाउने पात्रहरुलाई परिवर्तन गर्नको लागि आन्दोलन गरेकाले सोहीअनुसार आन्दोलनका कार्यक्रम अघि बढाउन आग्रह गरे।

उनले भने, ‘यस्तो बेलामा अहिले हामीले आन्दोलन गरेनौँ भने कहिले गर्ने आन्दोलन आन्दोलन अहिले सफल भएन भने कहिले होला सफल। राज्य पूर्णरुपले असफल भइसक्यो। यो राज्य चलाउने, यो व्यवस्था र व्यवस्था चलाउने पात्रहरुलाई परिवर्तन गर्नको लागि यो आन्दोलन हो। यो आन्दोलन हाम्रा लक्ष्य पाएपछि मात्रै रोकिन्छ। हाम्रो विचारधारामा मिल्ने पार्टी, समूह, अभियन्ता सबैलाई समेटेर अघि बढाउने छौँ।’

सांसद जबराले आन्दोलन आफूहरुका लक्ष्य प्राप्ति भएपछि मात्रै रोकिने दाबी गरे। उनले पार्टीसँग विचारधारा मिल्ने पार्टी, समूह, अभियन्तालाई समेटेर आन्दोलन अघि बढाउने बताए।