FLASH NEWS

साम्बाले वाफ वुमन्स च्याम्पियन्सिपमा जोर्डनविरूद्धको फाइनल खेल नखेल्ने


नेपाल आवाज १६ फाल्गुन २०८०, बुधबार १५:१२ मा प्रकाशित ७६९ पाठक संख्या

नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी साम्बाले साउदी अरेबियामा भइरहेको वाफ वुमन्स च्याम्पियन्सिपअन्तर्गतको फाइनल गुमाउने भएकी छन् ।


अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार फ्रेञ्च क्लब अभान्ट ग्वेंगाम्प आबद्ध साम्बाले बिहीबार जोर्डनविरुद्ध नेपालले प्रतिस्पर्धा गर्ने फाइनल खेल गुमाउने भएकी हुन् ।

क्लबसँगको सम्झौताअनुसार साम्बालाई फिफा विन्डोको खेल खेल्न मात्र अनुमति छ । यसअघि समूह चरण र सेमिफाइलका खेल फिफा विन्डोमा भएका कारण उनले खेलेको थिइन् । फाइनल भने फिफा विन्डो बाहिरको खेल हो ।

क्लबसँगको सम्झौता र फुटबलको व्यावसायिक मूल्यलाई सम्मान गर्दै साम्बाले फाइनल नखेल्ने एन्फाको भनाइ छ ।

जारी प्रतियोगितामा साम्बाले ९ गोल गरिसकेकी छिन् । सेमिफाइनलमा मंगलबार राति लेवनानलाई नेपालले २–१ ले हराउँदा बराबरी गोल गरेकी थिइन् ।

साम्बाले वाफ च्याम्पियनसिपमै नेपालका लागि कीर्तिमानी ५० अन्तर्राष्ट्रिय गोल समेत पूरा गरेकी थिइन् ।

अब नेपालले साम्बाबिना बिहीबार जोर्डनविरुद्ध खेल्नेछ । साम्बा भने फ्रेञ्च लिग खेल्न साउदी अरेबियाबाटै फ्रान्स जानेछन् ।