FLASH NEWS

मछिन्द्रले एनआरटीलाई टाइब्रेकरमा पराजित गर्दै केपी ओली कप जित्यो


नेपाल आवाज १९ फाल्गुन २०८०, शनिबार २०:१९ मा प्रकाशित ९१३ पाठक संख्या

काठमाडौं – मछिन्द्रले एनआरटीलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै शनिबार केपी ओली कपको उपाधि जितेको छ ।


दशरथ रंगशालामा भएको फाइनल जितेर डिफेन्डिङ च्याम्पियन मछिन्द्रले उपाधिको रक्षा गरेको हो । एनआरटीका लागि विवेक गुरुङको प्रहार बाहिरिएपछि मछिन्द्रले उपाधि जित्ने निश्चित भएको हो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा गएपछि प्रतिस्पर्धा सिधै पेनाल्टी सुटआउटमा गएको थियो । त्यसमा विवेकको अन्तिम प्रहार गोल हुन सकेन ।

मछिन्द्रका लागि पाँचै खेलाडीले पेनाल्टीलाई गोलमा परिणत गरे । उसका लागि सनिश श्रेष्ठ, दिवाकर चौधरी, स्टेफन समिर विनोङ, क्रिस्टोफर र देवेन्द्र तामाङले गोल गरे ।

एनआरटीका लागि भने सरोज तामाङ, सञ्जि विष्ट, अभिषेक लिम्बू र मोहित गुरुङले गोल गरे । निर्धारित समयको खेल रोमाञ्चक रहे पनि दुवै टिमले निर्णायक आक्रामक भने बन्न सकेन ।

केपी ओली कप जित्दै मछिन्द्रले ११ लाख रुपैयाँसहित ट्रफी पाएको छ भने उपविजेतामा सीमित भएका एनआरटीले पाँच लाख रुपैयाँ पाएको हो।