FLASH NEWS

प्रीति राईको स्वास्थ्य अवस्थाबारे बुझ्न अस्पतालमै पुगे खेलकुदमन्त्री


नेपाल आवाज २४ फाल्गुन २०८०, बिहीबार २३:३२ मा प्रकाशित १०९९ पाठक संख्या

काठमाडौं – नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अस्पताल पुगेर नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर प्रीति राईको स्वास्थ्य अवस्थाबारे बुझेका छन् ।


बुधबारमात्र पद तथा गोपनीयताको शपथ लिएका मन्त्री श्रेष्ठले वाफ महिला च्याम्पियनसिपको फाइनलमा घाइते भएकी प्रीतिलाई बिहीबार बीएन्डबी अस्पतालमै पुगेर भेटेका हुन् ।

भर्खरै सम्पन्न वाफ महिला च्याम्पियनसिपमा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गर्नुभएको नेपाली महिला फुटबल टिमको प्रीति राई सँग भर्खरै बीएन्डबी हस्पिटलमा भेट भयो । उहाँको चिकित्सकसग प्रीतिको स्वस्थ्य अवस्था बुझ्नुको साथै उनको स्वस्थ्य लाभको कामना गरे,” मन्त्री श्रेष्ठले भने,“म प्रीतिमार्फत सम्पूर्ण नेपाली खेलाडीहरूको उच्च सम्मान गर्न चाहन्छु । मेरो कार्यकालमा तपाईंहरूले नेपालको नाम अझै उच्च राख्ने गरी काम गर्ने प्रतिज्ञा गर्छु ।”

प्रीतिले च्याम्पियनसिपको फाइनलमा जोर्डनविरुद्ध चोटका कारण दोस्रो हाफपछि मैदान छाडेकी थिइन् । उनको दायाँ खुट्टाको घुँडामा चोट लागेको थियो ।

सोमबार ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा डाक्टर अमित जोशी नेतृत्वको चिकित्सकको टोलीले प्रीतिको सफल शल्यक्रिया गरेको हो । अस्पतालले एक विज्ञप्ति जारी गर्दै प्रीतिको शल्यक्रिया सफल भएको र पूर्णरूपमा ठिक हुन विभिन्न कारणमा निर्भर रहने जनाएको थियो ।

एन्फाले स्रोतले भने प्रीतिलाई खेलमा फर्किन करिब तीन महिना लाग्ने बताएको छ ।

एन्फाका महासचिव किरण राईसँगै मन्त्री श्रेष्ठ ग्वार्कोस्थित अस्पताल पुगेका थिए ।