FLASH NEWS

प्रहरी अधिकृतलाई गृहमन्त्री लामिछानेले भने – गुण्डा र अपराधीसँग हात मिलाएको देख्नु नपरोस्


नेपाल आवाज २७ फाल्गुन २०८०, आईतवार १७:३० मा प्रकाशित १२३१ पाठक संख्या

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ‘आफ्नो शक्ति राजनीतिक नेतृत्वलाई नसुम्पिन’ प्रहरी उच्च अधिकृतहरुलाई निर्देशन दिएका छन्।


आइतबार प्रधान कार्यालयमा निरीक्षण गर्दै गृहमन्त्री लामिछानेले प्रहरी अधिकृतहरूले कुनै पनि नेताको चाकडी गरेको देख्न, सुन्न नपरोस् भन्ने निर्देशन दिएका हुन्।

गृहमन्त्री लामिछानेले भने,‘प्रहरी कर्मचारी गैरव्यावसायिक क्रियाकलापमा संलग्न रहेको प्रमाणित भए हदैसम्मको कारबाही गरिने छ। र त्यसबेला कुनै शक्तिले भनसुन गरेर जोगाइदिन्छ भन्ने अपेक्षा विल्कुल नराख्नु होला। कानूनअन्तर्गत रहेर तपाईंहरुले गर्ने हरके कामको जिम्मेवारी लिन्छु। परेको चुनौती पनि व्यहोर्छु । तस्कर, गुण्डा र अपराधीसँग प्रहरी उभिएको र हात मिलाएको दृश्य देख्नु नपरोस्, कुनै नेताको चाकडी गरेको देख्न नपरोस्।’

उनले राजनीतिक हस्तक्षेपका कारण संगठन र त्यसको नेतृत्वले वृत्ति विकासको सुनिश्चितता गर्न नसक्दा सरूवा र बढुवाका लागि शक्ति केन्द्र धाउनुपर्ने विद्यमान अवस्थाको अन्त्य गर्न चाहेको पनि बताए।

आफू पहिलो पटक गृहमन्त्री हुँदा डिआइजी र एसएसपीहरूको सरूवाका गरेको सन्दर्भ पनि उनले उल्लेख गरेका थिए। गृहमन्त्री लामिछानेले आफ्नो शक्ति राजनीतिक नेतृत्वलाई नसुम्पिन पनि अनुरोध गरे।

निर्धक्क भएर आफ्नो अधिकारको प्रयोग गर्न र आफूले हस्तक्षेप नगर्ने पनि बताए। तर अन्य व्यक्तिहरूले नै संगठन चलाउने अवस्था आएमा भने आफूले हस्तक्षेप गर्ने बताए।

त्यसैगरी ३० वर्षे सेवा अवधिबारे आफू क्लियर भएको र प्रहरी समायोजन पनि टुंगोमा पुर्‍याउने गृहमन्त्री लामिछानेको भनाइ थियो। यसबारे गृहकार्य र सरोकारवालासँग छलफल गर्नुपर्ने उनले बताए।