FLASH NEWS

ऋण तिर्दिनँ भन्ने आपराधिक मनोवृत्ति सह्य हुदैँन : अर्थमन्त्री पुन


नेपाल आवाज ३ चैत्र २०८०, शनिबार १४:३१ मा प्रकाशित ६९७ पाठक संख्या

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले आफ्नो स्वार्थका लागि बैंक तथा वित्तीय संस्थाविरुद्ध अफवाह फैलाउने प्रवृत्ति सरकारका लागि सह्य नहुने बताएका छन् ।


राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आयोजना गरेको व्यवस्थापन सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।

उनले बैंक तथा वित्तीय संस्थाको ऋण नतिरेर कालोसूचीमा परेकाहरूले फैलाएको अफवाहबाट नआत्तिन बैंकर्स सोसाइटी र निजी क्षेत्रलाई आग्रहसमेत गरे।

अर्थमन्त्री पुनले बैंकहरूलाई नयाँ सुदखोर भनेर आरोपित गर्ने प्रवृत्तिसँग सहमत हुन नसकिने स्पष्ट पारे।

अर्थमन्त्री पुनले भने,‘बैंकहरूबाट ऋण लिने, कालोसूचीमा पर्ने अनि ऋण तिर्दिनँ भनेर हिंड्ने प्रवृत्ति छ । आफ्नो स्वार्थ पूरा गर्न बैंकिङ प्रणालीप्रति अफवाह फैलाउने प्रवृत्ति सरकारलाई कदापी स्वीकार्य हुन सक्दैन ।’

अर्थमन्त्री पुनले नेपालको बैंकिङ प्रणालीलाई उत्कृष्ट भन्दै बैंक जति व्यवस्थित रूपमा सञ्चालित कुनै पनि संस्था नेपालमा नरहेको चर्चा गरे ।

कुनै बैंकर्सले गल्ती गरेको भए कारबाही हुने स्पष्ट गर्दै उनले आरोपित व्यक्तिका परिवार र बैंकिङ क्षेत्रमा कार्यरत सबै खराब भन्ने प्रवृत्ति देखिएकोमा चिन्ता जनाए ।