FLASH NEWS

आइपिएलको भोजपुरी कमेन्ट्रीमा अश्लील भाषाको प्रयोग भएपछि विवाद


नेपाल आवाज १३ चैत्र २०८०, मंगलवार ०७:३३ मा प्रकाशित ५१७ पाठक संख्या

काठमाडौँ । आइतबार कोलकाताको इडेन गार्डेनमा भएको आईपीएल खेलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीचको खेलमा भोजपुरी भाषामा कमेन्ट्री गर्दा अश्लील भाषा प्रयोग गरेको भन्दै विवाद उत्पन्न भएको छ ।


धेरै दर्शकले यसको भिडियो सोसल मिडिया साइट एक्समा सेयर गरेका छन् र उचित कारबाहीको माग गरेका छन् । यो भिडियो निकै भाइरल भइरहेको छ । यो टिप्पणी सनराइजर्स हैदरावादको इनिङ्सको १९औं ओभरमा गरिएको हो ।

त्यतिबेला मिचेल स्टार्क बलिङ गरिरहेका थिए र हैदरावादका ब्याट्सम्यान हेनरिक क्लासेन लामो सट प्रहार गरिरहेका थिए । उक्त ओभरमा उनले तीन छक्का प्रहार गरे । मिड विकेटमा उनको छक्का प्रहार गर्दा भोजपुरी कमेन्टेटरले अश्लील भाषा प्रयोग गरेको आरोप लागेको छ । सो भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

धेरै दर्शकहरूले बीसीसीआई सचिव जय शाहसँगै भोजपुरी फिल्म अभिनेता तथा नेता मनोज तिवारी र रवि किशनलाई ट्याग गरेका छन् । तर, बोर्डले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।