FLASH NEWS

आइपिएलबाट तिब्र गतिका बलर मयंकको उदय


नेपाल आवाज १८ चैत्र २०८०, आईतवार १९:०० मा प्रकाशित २५९ पाठक संख्या

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) ले हरेक बर्ष भारतमा नयाँ क्रिकेटरलाई अगाडी ल्याउने गर्दछ ।


अहिले १७औं सिजन जारी रहदा आइपिएलबाट हार्दिक पाण्डेयदेखि पछिल्लो आइपिएलबाट रिंकु सिंहसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा आएका छन् ।

यसैबीच शनिबार लखनउ सुपर जाइन्टबाट खेल्दै दिल्लीका युवा फास्ट बलर मयंक यादव आफ्नो उत्कृष्ट प्रदर्शनका कारण चर्चामा रहेका छन् । मयंकले शनिबारको खेलमा नियमित रूपमा १५० किलोमिटर प्रतिघण्टाभन्दा बढी गतिमा बलिङ गरेर सबैलाई चकित पारेका छन् ।

उनले बलिङ शुरु गर्दै मिडियम पेसका बलर भन्दै खेलको कमेन्ट्री गरिरहेका कमेन्टेटरले परिचय गराएका थिए । तर जब उनले बलिङ शुरु गरे , त्यसपछि उनले १५० भन्दा बढी गतिमा बल फाल्न थालेपछि कमेन्टेटरहरु समेत हैरान हुदै माफी मागेर उनको प्रसंशा गर्न शुरु गरेका थिए ।

४ ओभरमा २७ रन दिएर ३ महत्वपूर्ण विकेट लिएका मयंक खेलको प्लेयर अफ द म्याच बनेका थिए । मयंकले फालेका २४ बलमा ९ बल १५० किमी प्रति घण्टाभन्दा बढी गतिमा फालेका थिए ।

पञ्जाब विरुद्धको आफ्नो अविस्मरणीय प्रदर्शन पछि, २१ वर्षीय फास्ट बलर मयंकले आफु दक्षिण अफ्रिकाका पूर्व तिब्र गतिका बलर डेल स्टेन रहेको बताएका छन् ।

लखनऊ सुपरजायन्ट्सले लिलामीमा अनुबन्ध गरेको दुई वर्षपछि उनले आईपीएलमा डेब्यु गरेका हुन् । मयंकलाई लखनउले केवल २० लाखमा किनेको थियो ।

युवा फास्ट बलरलाई लखनउ सुपर जायन्ट्सले आईपीएल २०२२ को लिलामीमा २० लाख रुपैयाँको मामूली शुल्कमा अनुबन्ध गरेको थियो । उनले त्यो सिजन एक खेल पनि खेलेनन् । यसपछि उनी चोटका कारण २०२३ को सिजनबाट बाहिरिए । दिल्लीका यी युवा फास्ट बलरले आईपीएल २०२५ को मेगा लिलामीमा धेरै पैसा पाउने अपेक्षा गरिएको छ ।

आइपिएलमा अहिलेसम्म सबैभन्दा तिब्र गतिको बल फाल्ने रेकर्ड अस्ट्रेलियाका शान टेटको नाममा रहेको छ । उनले १५७.७१ किमी प्रति घण्टाको गतिमा बल फालेका थिए । त्यस्तै लुकी फर्गुसनले १५७.३, भारतका उमरान मालिकले १५७, एनरिक नोर्त्जेले १५६.२ र मयंकले १५५.८ किमी प्रति घण्टाको गतिमा बल फालेका छन् ।

अहिलेका भारतका तिब्र गतिका बलर जसप्रित बुमराहको उच्च गति १५३ किमी प्रति घण्टा रहेको छ भने उनको औसत १४२ किमी प्रति घण्टा गरेको छ । मयंकको पहिलो खेलको प्रदर्शनले भारतले यस आइपिएलबाट नयाँ तिब्र गतिको बलर पाउने निश्चित भएको छ ।