FLASH NEWS

सातौं भोजपुर मेयर गोल्डकप : त्रिभुवन आर्मी फुटबल क्लबको उत्कृष्ट शुरुवात


नेपाल आवाज १० बैशाख २०८१, सोमबार ००:२५ मा प्रकाशित ७१५ पाठक संख्या

भोजपुर – आइतबारदेखि शुरु सातौं भोजपुर मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा बिभागिय टिम त्रिभुवन आर्मी फुटबल क्लबले उत्कृष्ट शुरुवात गरेको छ ।


भोजपुर रंगशालामा भएको उद्घाटन खेलमा आर्मीले जर्जियन युनाइटेड, भारतलाई शुन्यका विरुद्ध ४ गोलले हराउँदै उत्कृष्ट शुरुवात गरेको हो ।

आर्मीका लागि वसन्त जिम्बा, सुरज बस्नेत र पदम तामाङले एक/एक गोल गरे । त्यस्तै थप एक गोल भने जर्जियनका नरेन्द्र राईले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए ।

खेलमा आर्मीका वसन्त जिम्बा म्यान अफ द म्याच समेत घोषित भए । यो जितसँगै आर्मी सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तर्गत बैशाख १० गते सोमबारको दोस्रो क्वाटरफाइनल खेल खोटाङ भगवती स्पोर्ट्स क्लब, खोटाङ र रारा फुटबल क्लब, धनकुटा बीच हुने आयोजकले जानकारी दियो ।

त्यसअघि प्रतियोगिताको उद्घाटन भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आले लगायतका अतिथीहरुले संयुक्तरूपमा गरेका थिए ।

भोजपुर जिल्ला फुटबल संघको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधी सहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख १५ गतेका दिन हुनेछ ।

भोजपुर डीएपए र भोजपुर नगरपालिकाको सहयोगमा खेल बिबा मिडिया ग्रुप अन्तर्गत संचालित गोल नेपाल डट कमले प्रत्यक्ष प्रसारण गर्ने छ ।