FLASH NEWS

धादिङको जिल्ला आयुर्वेद औषधालय १६ शैय्याको अस्पतालमा स्तरोन्नति


नेपाल आवाज १३ बैशाख २०८१, बिहीबार १९:०१ मा प्रकाशित ६४३ पाठक संख्या

मलेखु – धादिङको नीलकण्ठ नगरपालिका–३, धादिङबेसीमा सञ्चालित जिल्ला आयुर्वेद औषधालयलाई १६ शैय्याको अस्पतालमा स्तरोन्नति गरिएको छ ।


आयुर्वेद औषधालयलाई आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको रुपमा बिस्तार गरिएको हो। चिकित्सालयले अब १६ शैय्याको सेवा प्रदान गर्ने आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङका प्रमुख डा.अमुल्य दाहालले बताउनुभयो । उहाँले चिकित्सालयको भवन निर्माण गरी सेवा प्रदान गर्न लागेको जानकारी दिनुभयो।

धादिङ जिल्लामा १० वटा आयुर्वेद संस्था छन् । चिकित्सालय सहित चार वटा आयुर्वेद औषधालय र पाँच वटा सेवा केन्द्र सञ्चालनमा छन् । चिकित्सालयले सेवा आरम्भ गरेपछि बिरामीलाई चौबिसै घण्टा सेवा दिन सकिनेछ । सोह्र शय्याको अस्पताल सञ्चालन गर्न मिल्ने आफ्नै भवन नहुँदा सेवा दिन कठिनाई भइरहेको छ । औषधि न्यून मात्रामा उपलब्ध हुने भएकाले पनि सेवाग्राहीलाई सहजरुपले सेवा दिन नसकेको चिकित्सालय धादिङका प्रमुख दाहालको भनाइ छ ।

चिकित्सालयले वैकल्पिक उपचार विधि अन्तर्गत बहिरङ्ग सेवा, प्याथोलोजी ल्याब, अकुपञ्चर सेवा, पूर्वकर्म र पञ्चकर्म सेवा, फिजिओ थेरापी लगायतको निःशुल्क सेवा प्रदान गर्दै आएको छ । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम मार्फत ३० वर्षभन्दा माथिका व्यक्तिको निःशुल्क स्वास्थ्य परीक्षण गर्दै आएको छ । आमा समूहमा भान्साघर औषधालय कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस कार्यक्रम अन्तर्गत भान्सामा चल्ने खानेकुरा र स्वादिलो बनाउन प्रयोग हुने मसलाको मात्राको विषयमा सिकाउने गरिएको छ ।