FLASH NEWS

यस्ता छन् कैलाश सिरोहियाविरुद्ध प्रहरीका ६ प्रमाण


नेपाल आवाज ८ जेष्ठ २०८१, मंगलवार २२:२५ मा प्रकाशित ८२९ पाठक संख्या

काठमाडौं- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश प्रसाद सिरोहियालाई नागरिकतासम्बन्धि कसुरमा पक्राउ गरिएको छ । उनीमाथि धनुषा प्रहरीले विगत एक महिनादेखि अनुसन्धान गरिरहेको छ ।


अनुसन्धानको क्रममा उनले अरुकै नागरिकता नम्बर प्रयोग गरिरहेको प्रहरी दाबी छ । जिल्ला अदालत धनुषाले पक्राउ पूर्जी जारी गर्दा प्रहरीले पेस गरेको ६ वटा प्रमाणलाई प्रमुख आधार बनाएको छ ।

उनले शिवजी साहु तेलीको नामको नागरिकता प्रयोग गरिरहेको प्रहरी स्रोत बताउँछ । सिरोहियाभन्दा चार महिनाअघि तेलीले नागरिकता बनाएको जिल्ला प्रशासन कार्यालयको विवरणबाट प्रस्ट हुन्छ ।

उनका अन्य दाजुभाईले अंगिकृत नागरिकता बनाएको तथा कैलाशले जन्मसिद्ध बनाएको देखिन्छ । त्यस्तै, जन्म मिति कीर्ते गर्नुका साथै नागरिकता लिँदा पेस गर्नुपर्ने कागजातहरूको अभिलेख फेला नपरेका आधारमा पक्राउ गरेरै अनुसन्धान गर्नुपर्ने भन्दै धनुषा प्रहरीले अदालतमा पक्राउ पूर्जीका लागि लेखेको थियो ।

पक्राउ पूर्जी जारी भएकै दिन प्रहरीले कार्यकक्षबाटै सिरोहियालाई प्रहरीले पक्राउ गरेको हो । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयको टोलीले मंगलबार साँझ पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीसहितको टोली कान्तिपुरको केन्द्रीय कार्यालय पुगेको थियो ।

कान्तिपुरले गृहमन्त्री रवि लामिछानेविरुद्ध समाचार लेखेको आधारमा प्रतिशोधस्वरुप पक्राउ गरिएको सिरोहियाको दाबी थियो। उनले पक्राउ परेपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सरकार नवअधिनायकवादतर्फ अगाडि बढेको बताएका थिए।

मंगलबार साँझ कान्तिपुर कार्यालयबाट पक्राउ गरेलगत्तै सिरोहियालाई गाडीमा धनुषा रवाना गरिएको छ। उनलाई बुधबार बिहान धनुषा जिल्ला अदालतमा पेश गर्ने तयारी रहेको स्रोतले जानकारी दिए।

यसैबीच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिरोहियालाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिएको टिप्पणी गरेका छन् । मंगलबार साँझ उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सो टिप्पणी गरेका हुन् ।

उनले सिरोहियाको पक्राउलाई ‘सरकारको अलोकतान्त्रिक कदम’ भनेका छन् । मिडियालाई तर्साउने उद्देश्यसहितको गठबन्धन सरकारको यो निर्णय खेदजनक रहेको उनको भनाइ छ । ‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहीयालाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिनु सरकारको अलोकतान्त्रिक कदम हो। मिडियालाई तर्साउने उदेश्य सहितको गठवन्धन सरकारको यो निर्णय खेदजनक छ,’ उनले उल्लेख गरेका छन् ।

उता, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सिरोहिया पक्राउ गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्ञानेन्द्रपथमा लागेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले प्रचण्डलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना गरेका हुन् । उनले सरकारले नाटकीय ढंगले सिरोहियालाई गिरफ्तार गर्नु राम्रो नदेखिएको बताए ।

‘जुनसुकै कारणले होस् सरकारले नाटकीय ढंगले कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गर्नु राम्रो देखिएन,’ भट्टराईले लेखेका छन्, ‘झन् बिडम्बनाको कुरा त के भने माओवादी जनयुद्धको बेला २०५८ जेठमा दरबार हत्याकाण्डसम्बन्धी मेरो लेख छापेबापत् तत्कालीन राजा ज्ञानेन्द्रको सरकारले सिरोहिया लगायतका कान्तिपुरकर्मीलाई यसरी नै गिरफ्तार गर्दा हाम्रा तत्कालीन सुप्रिम कमाण्डर प्रचण्डलगायत हामीले त्यसको तीव्र विरोध गरेका थियौं ! आज उनै प्रचण्ड ज्ञानेन्द्रको ठाउँमा हुँदा उनले नै ज्ञानेन्द्रपथ अनुशरण गरेको देख्दा म अत्यन्त लज्जित छु !’