FLASH NEWS

अलैंची बिक्रीबाट २० करोड आम्दानी


नेपाल आवाज १४ फाल्गुन २०७९, आईतवार १२:३६ मा प्रकाशित ३०४९ पाठक संख्या

लमजुङ । लमजुङका अलैंची किसानले अलैंची दाना बिक्रीबाट २० करोड आम्दानी गरेका छन् । जिल्लामा यस बर्ष  तीन सय ८० मेट्रिक टन अलैँची बिक्री भएको थियो ।


२०४१ सालदेखि अलैँची खेती विस्तार भएपछि यसवर्ष हालसम्मकै बढी अलैँची बिक्रीबाट सो रकम आम्दानी भएको हो । यस वर्ष किसानले प्रतिकिलो अलैँची कम्तीमा पाँच सय ५० देखि सात सयसम्ममा र गत वर्ष नौ सय ५० देखि एक हजार पाँच सय बढी मूल्यमा बिक्री गरेका थिए ।

यसअघि उनीहरुले सबैभन्दा बढी ०७७ मा तीन हजार पाँच सय क्विन्टल अलैँची दाना बिक्रीबाट १८ करोड २० लाख आम्दानी गरेका थिए । अलैंची ब्यवसायी महासघ गण्डकी प्रदेशका अध्यक्ष अजय तामाङका अनुसार  गत वर्ष किसानले तीन सय ३५ मेट्रिक टन अलैँची बिक्रीबाट १५ करोड आम्दानी गरेका थिए ।

२०७६ मा जिल्लामा दुई हजार क्विन्टल अलैँची बिक्री गरेर कृषकले १२ करोड आम्दानी गरेका थिए । २०७५ मा सात सय ५० क्विन्टल बिक्रीबाट कृषकले पाँच करोड २५ लाख आम्दानी गरेका थिए । गत वर्षको तुलनामा यस वर्ष जिल्लाका अधिकांश किसानको अलैँची उत्पादनमा वृद्धि भएको बताइएको छ ।