FLASH NEWS

प्रधान सेनापति ह्विलचियर बास्केटबल प्रतियोगितामा क-कस्ले जिते ?


नेपाल आवाज ८ बैशाख २०८१, शनिबार ००:१७ मा प्रकाशित ४२१ पाठक संख्या

काठमाडौँ- प्रथम संस्करणको प्रधान सेनापति ह्विलचियर बास्केटबल प्रतियोगितामा पुरुषतर्फ सशस्त्र प्रहरी बल र महिला तर्फ ह्विलचियर स्पोर्टस एसोसिएसन प्रथम भएका छन् ।


नेपाली सेनाको आयोजनामा सैनिक पुनर्स्थापना केन्द्र, भण्डारखालमा सञ्चालन भएको प्रथम संस्करणको प्रधान सेनापति ह्विलचियर बास्केटबल प्रतियोगिता-२०८१ मा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब दोस्रो र स्पाइनल कर्ड इन्जुरी नेटवर्क, नेपाल तेस्रो भएका छन् ।

महिलातर्फ स्पाइनल कर्ड इन्जुरी नेटवर्क, नेपाल दोस्रो र जावलाखेल ह्विलचियर स्पोर्टस क्लब तेस्रो भएका छन् ।

उक्त प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ६ टिम गरी जम्मा १२ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा महिला तथा पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमहरूलाई नगद पुरस्कारसहित शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने सहभागी सम्पूर्ण टिमलाई मायाको चिनो प्रदान गर्नुका साथै रेफ्रीहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।

समापन समारोहमा फरक क्षमता भएका व्यक्तिहरूले नृत्य तथा साङ्गीतिक प्रस्तुतिसमेत प्रदर्शन गरेका थिए । फरक क्षमता भएका व्यक्तिहरूलाई समान अवसर प्रदान गर्नुका साथै उनीहरूको योगदानको उच्च कदर गर्ने उद्देश्यका साथ आयोजित प्रतियोगिताको लिग चरणका विभिन्न खेलहरूको प्रधान सेनापति प्रभुराम शर्मालेसमेत अवलोकन गरेका थिए ।

सैनिक तालिम महानिर्देशक उपरथी सन्तोष कुमार ढकालले उद्घाटन गरेका थिए भने बलाधिकृत रथी अशोकराज सिग्देलले समापन गरेका थिए।